अपाङ्गताको क्षेत्रमा विगत तीन वर्षदेखि कैलाश गाउँपालिकामा सेवा प्रदान गर्दै आएको सुन्दरढोका साथी सेवाले सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण गरेको छ। मंगलबार आयोजित कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक विजता अधिकारीले गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई परियोजनासम्बन्धी दस्तावेज हस्तान्तरण गरेकी हुन्।
दस्तावेज ग्रहणपछि अध्यक्ष मुक्तानले अपाङ्गता तथा जीविकोपार्जन क्षेत्रमा सुन्दरढोकाले गरेको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। सामाजिक परीक्षण प्रतिवेदनले कार्यक्रम प्रभावकारी भएको देखिएको उल्लेख गर्दै उनले यसबाट सकारात्मक परिणाम प्राप्त भएको र सफल अभ्यासलाई स्थानीय सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। साथै, अपाङ्गता भएका नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन संस्थाले महत्वपूर्ण योगदान पुर्याएको उनले बताए।
अध्यक्ष मुक्तानले विभिन्न संघसंस्थासँगको सहकार्यमा आगामी दिनमा पनि कार्यक्रम अघि बढाइने जानकारी दिँदै ललितपुर महानगरपालिका, कैलाश गाउँपालिका र सुन्दरढोका साथी सेवाको साझेदारीमा अपाङ्गमैत्री छात्रावास निर्माण गरिने बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सुन्दरढोकाले गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए। उनले पालिकाभित्र अपाङ्गता परिचयपत्र वितरण भइरहेको उल्लेख गर्दै यसले सेवासुविधा प्राप्त गर्न सहजता ल्याउने बताए।
संस्थाकी कार्यकारी निर्देशक अधिकारीले भौगोलिक विकटताका बाबजुद तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। अपाङ्गता भएका नागरिकलाई घरमै उपचार सेवा, सीपमूलक तालिम तथा जीविकोपार्जनमा जोड दिइएको उनले बताइन्। परियोजनाअन्तर्गत कुखुरा तथा बाख्रापालन, साना पसल सञ्चालन, ट्याक्टर सेवा, बाँसजन्य सामग्री उत्पादन, ब्यूटीपार्लर, सैलुन, टेलरिङलगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो।
कार्यक्रममा परियोजना संयोजक राम पार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै वडा नं. ७ का वडाध्यक्ष उदासकुमार भोलन, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, अपाङ्ग सहयोग सञ्जाल कैलाशका अध्यक्ष सुदीप जिम्बालगायतले धारणा राखेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल, वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नं. ९ का वडाध्यक्ष भूवनसिं घलान, संस्थाका प्रतिनिधि तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।



