सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुदृढ गर्ने उद्देश्यले मकवानपुर जिल्लाका यातायात व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा सुमो व्यवसायी, टिकट काउन्टर सञ्चालक र चालकसहितको सहभागिता रहेको थियो। 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सडक सुरक्षा, यात्रु अभिलेखीकरणको महत्व तथा ट्राफिक नियमको पालना गर्दै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु यातायात व्यवसायीको प्रमुख दायित्व रहेको बताए। उनले सवारी सञ्चालनका क्रममा अनुशासन, सतर्कता र नियम पालनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा सहकार्यमा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चु राम फुयालले पनि सवारी दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी गराए। उनले व्यवसायी, चालक र सुरक्षाकर्मीबीचको सहकार्यले मात्र सुरक्षित यातायात प्रणाली सम्भव हुने बताए।

कार्यक्रममा मकवानपुर जिल्लामा सञ्चालित विभिन्न यातायात व्यवसायी संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अन्तर्क्रियाका क्रममा सहभागीहरूले आफ्ना समस्या, सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित संवाद र सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको छ।







