हिउँदे अधिवेशनको उद्घाटनसँगै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको राक्सिराङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समेत उद्घाटन गर्नुभएको छ।
बुधबार राक्सिराङ गाउँपालिकाको १९औँ गाउँसभा (अधिवेशन) उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा प्रदेशका अधुरा तथा समेटिन बाँकी योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने बताउँदै अब प्रदेश सरकारले प्रादेशिक सडक, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नुभयो।

मुख्यमन्त्री बानियाँले गाँजासम्बन्धी विधेयक संसदबाट पारित गरी आवश्यक ऐन, नियम तथा कार्यविधि निर्माण गरेर गाँजाको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गर्न प्रोत्साहित गरिने प्रतिबद्धता जनाउनुभयो।
‘अब गाँजालाई व्यवस्थित गर्नुपर्छ। हामीले पनि विधेयक पारित गरी संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर गाँजाको प्रशोधनमार्फत तेलदेखि क्यान्सरजस्ता रोगको उपचारमा प्रयोग हुने औषधि उत्पादनतर्फ लाग्नुपर्ने समय आएको छ,’ मुख्यमन्त्री बानियाँले भन्नुभयो।
पालिकाको आवश्यकता र योजनाअनुसार नै प्रदेश सरकार अघि बढ्ने भन्दै राक्सिराङ गाउँपालिका–९ मा रहेका १६ घरका खरको छाना विस्थापन गर्ने कार्यलाई पनि निरन्तरता दिइने जानकारी दिनुभयो। पहिलो किस्तामा अड्किएका घरहरूका लागि दोस्रो र तेस्रो किस्ता छिट्टै आउने वातावरण बनाइने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।
उहाँले घरेलु मदिरालाई ब्राण्डिङ गर्न प्रदेश सरकारले कानुनी व्यवस्था गर्न लागेको जानकारी पनि दिनुभयो। विदेशबाट आयात हुने मदिरा न्यूनीकरण गर्दै कोदो, मकै, किबी, गिट्ठालगायत अन्न तथा फलफूलबाट उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डिङ गरी स्वदेश तथा विदेशमा बिक्री गर्न सक्ने बनाउने योजना रहेको उहाँको भनाइ थियो। ‘घरेलु मदिरा प्रहरीले फाल्ने अवस्था थियो, अब त्यो समस्या हट्नेछ,’ उहाँले उल्लेख गर्नुभयो।
मुख्यमन्त्री बानियाँले संघीयता कार्यान्वयनपछि विकट गाउँहरूमा पूर्वाधार विकासले तीव्रता पाएको उल्लेख गर्दै यसलाई गणतन्त्र र संघीयताको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो। मकवानपुरको विकट क्षेत्र मानिने राक्सिराङ गाउँपालिका पनि संघीयतापछि सडक विस्तार, पुल निर्माणलगायतका विकासका काम हुँदै सुगमतर्फ उन्मुख हुँदै गएको उहाँले बताउनुभयो। मनहरी–परेवाभीर हुँदै मलेखु निस्कने सडकलाई प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरी अघि बढाइने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मनहरी–३ का वडाध्यक्ष उत्तम वाइबा, पूर्व वडाध्यक्ष बाबुलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वनस्तम थिङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरूलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ।



