तामाङ समुदायको बाहुल्यता रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मा माघ २४ गतेदेखि पहिलोपटक सोनाम ल्होछार तथा सांस्कृतिक प्रवर्द्धन मेला आयोजना हुने भएको छ। वडा कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष दीपक खड्काले मेला आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो।
वडा अध्यक्ष खड्काका अनुसार माघ २४ गतेदेखि सुरु हुने मेला करिब एक हप्तासम्म सञ्चालन हुनेछ। मेलाको व्यवस्थापन तथा तयारीका लागि आयोजक समिति गठन भइसकेको र आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको उहाँले बताउनुभयो।
तामाङ समुदायको भाषा, संस्कृति, भेषभूषा तथा परम्पराको जगेर्ना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ। मेलाको सञ्चालनका लागि वडा कार्यालयले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सहरी क्षेत्रभन्दा बाहिर पनि सांस्कृतिक मेला आयोजना गर्न सकिने वातावरण सिर्जना गर्ने उद्देश्यले वडा नम्बर–१४ लाई मेला स्थलका रूपमा छनोट गरिएको वडा अध्यक्ष खड्काले स्पष्ट पार्नुभयो।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने तामाङ समुदायको मौलिक संस्कृति झल्कने नृत्य, गीत तथा भेषभूषासहित तामाङ कलाकारहरूले विशेष कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ। आयोजक समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार संस्कृति संरक्षण र पुस्तान्तरणका दृष्टिले यो मेला कोसेढुंगा सावित हुने विश्वास लिइएको बताउनुभयो।



