राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (एमाले) , नेपाली कांग्रेस, र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेकपाले उम्मेदवार दर्ता गराएका हुन ।
नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन् । एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट एमालेका प्रेमप्रसाद दगालले उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट गीता देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । नेकपाका प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झाले उम्मेदवारी दिनु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । बागमती प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभाका ११० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जना गरी कुल ३४८ जना मतदाता रहेका छन् ।
मतभारका हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।
राष्ट्रियसभा निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ । सो विद्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन् । ‘बी’ ब्लकमा मतदान हुने र प्राविधिक भवनमा मतगणना गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले मतदान गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसिले मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ ।
हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगा कुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनमा सकिन लागेकाले ती रिक्त हुने पदका लागि निर्वाचन हुन लागेको हो ।



