हेटौंडा–३ बसामडीस्थित सहारा ग्यास इन्डष्ट्रिज प्रा. लि. ले ७ सय ३६ थान एलपी ग्यास सिलिण्डर नष्ट गरेको छ । उपभोक्ताको सुरक्षालाई मध्यनजर गर्दै प्रयोगका लागि असुरक्षित ठहरिएका सिलिण्डर नष्ट गरिएको उद्योगले जनाएको छ ।
शुक्रबार उद्योग परिसरमा सहारा लोगो अंकित म्याद गुज्रेका, विभिन्न कारणले लिकेज भएका, प्वाल परेका, फुटरिङ तथा नेकरिङ बिग्रिएका तथा हाइड्रोलिक टेस्टमा फेल भएका सिलिण्डर नष्ट गरिएको हो ।

कम्पनीका प्रबन्धक खड्गबहादुर थापाका अनुसार यसअघि पनि सहाराले २०७९ सालमा ६ सय ३७ थान असुरक्षित सिलिण्डर नष्ट गरिसकेको छ । असुरक्षित सिलिण्डर प्रयोगबाट हुन सक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्न यो कदम चालिएको उहाँले बताउनुभयो । 
कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरूले एलपी ग्यास जस्तो अत्यन्त प्रज्वलनशील पदार्थको सुरक्षित प्रयोग सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताए । असुरक्षित तथा मापदण्ड विपरीतका ग्यास सिलिण्डर प्रयोगले मानवीय तथा भौतिक क्षति हुने भन्दै यसमा निजी कम्पनी मात्र होइन, राज्यको समेत साझा जिम्मेवारी रहने उनीहरूको भनाइ थियो । निजी उद्योगको प्रयास मात्रै पर्याप्त नहुने र प्रभावकारी नियमन आवश्यक रहेको धारणा व्यक्त गरिएको छ । 
गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका प्रमुख कमल ओझाले ग्यास सिलिण्डर ढुवानी तथा ओसारपसार गर्दा उपभोक्ता र व्यवसायीले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । लापरवाहीपूर्ण ढुवानीका कारण सिलिण्डर कमजोर भई दुर्घटना निम्तिन सक्ने भएकाले सुरक्षित तरिकाले ओसारपसार गर्नुपर्ने उहाँको भनाइ थियो । 
सिलिन्डर नष्ट गर्न गुणस्तर तथा नापतौल कार्यालय, स्थानीय जनप्रतिनिधि, प्रहरी र सञ्चारकर्मीको उपस्थितिमा गरिएको थियो।
सहारा ग्यास इन्डष्ट्रिजले विभिन्न ब्रान्ड र नाममा सातै प्रदेशमा एलपी ग्यास रिफिलिङ उद्योग सञ्चालन गर्दै आएको छ ।



