हेटौंडाको चर्चित तथा पुरानो सिजन ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले १८औँ पटक प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा पार्लरमा तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सिजन ब्यूटी पार्लरकी सञ्चालक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यवसायी संगीता श्रेष्ठले विगत २३ वर्षदेखि निरन्तर पार्लर तथा तालिम केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । यस अवधिमा उहाँले सयौँ विद्यार्थीलाई दक्ष ब्यूटिसियनका रूपमा तयार गरिसक्नुभएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि मिना कुमारी लामाले महिलाहरू उद्यमी बनेको देख्दा खुसी लागेको बताउनुभयो । महिलाहरूमा क्षमता र अवसर भए आफ्नै खुट्टामा उभिएर यस्ता ठूला तथा प्रभावकारी कार्यक्रम गर्न सक्ने उदाहरण आजको कार्यक्रमले प्रस्तुत गरेको उहाँको भनाइ थियो । अझै पनि पढेलेखेका धेरै महिलाहरू घरभित्र सीमित रहेकाले यस्ता कार्यक्रममार्फत उनीहरूलाई बाहिर ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले महिलाहरू घरभित्र मात्र होइन, समाजलाई सुन्दर बनाउने कार्यमा पनि सक्रिय रहेको बताउनुभयो । महिलाको सीप, क्षमता र उद्यमशीलता प्रवर्द्धनमा जनप्रतिनिधिका रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा मकवानपुरमै रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका विभिन्न ब्यूटिसियनहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । साथै सञ्चालक श्रेष्ठका परिवारजनको पनि सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको समापनमा आयोजक संगीता श्रेष्ठले यहाँसम्म आइपुग्न र यो उचाइ हासिल गर्न आफ्नो परिवारको निरन्तर साथ, सहयोग र विश्वास महत्वपूर्ण रहेको बताउनुभयो । पारिवारिक सहयोग बिना आजको सफलता सम्भव नहुने उहाँको भनाइ थियो ।
महिला उद्यमशीलता, सीप विकास र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सम्पन्न उक्त कार्यक्रमलाई सहभागीहरूले प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।



