बागमती गाउँपालिका–३ स्थित गढनमा दोस्रो संस्करणको ल्होछार कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। वडा नम्बर ३ को प्रायोजन तथा ल्होछार कप फुटबल प्रतियोगिता व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गर्नुभएको हो।
गढनस्थित सहिद स्मृति खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा बागमती–१ स्थित एफसी गुम्बा टोलले आयोजक ‘ए’ टोलीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त हारसँगै आयोजक टोली प्रतियोगिताबाट बाहिरिएको छ। अब एफसी गुम्बा टोलले प्रदेश प्रहरी क्लब हेटौंडासँग सेमिफाइनल प्रवेशका लागि २७ गते प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।
प्रतियोगिता उद्घाटन समारोह प्रतियोगिताका संयोजक समीर लामाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बागमती–३ का वडाध्यक्ष कमान सिंह पाख्रीन, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङ, उपाध्यक्ष मुक्ति लामा तथा फुटबल प्रशिक्षक मेघराज केसीलगायतको उपस्थिति रहेको थियो।



