‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवद्र्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ मनाइने भएको छ ।

दिवसको अवसरमा सिन्धुलीमा पुस २९ गतेदेखि माघ १ गतेसम्म रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी कार्यक्रम आयोजना गरिने भएको छ । कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीका अनुसार प्रदर्शनी कार्यक्रम कृषि विकास कार्यालय सिन्धुलीको परिसरमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा रैथाने तथा स्थानीय कृषि उपजको प्रदर्शन तथा बिक्रीका लागि स्टलहरू राखिनेछन् । साथै, मौलिक खाद्य परिकारको प्रदर्शन तथा सेवनको समेत व्यवस्था गरिने अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमका क्रममा रैथाने बालीको उत्पादन, संरक्षण र प्रवद्र्धनमा सक्रिय किसान तथा कृषिगत उद्यमीलाई सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
उक्त कार्यक्रम कृषि विकास कार्यालय सिन्धुली र सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड, कमलामाई नगरपालिका–६ को संयुक्त आयोजनामा तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश र बागवानी विकास केन्द्र सिन्धुलीको समन्वयमा सञ्चालन गरिने जनाइएको छ ।



