
हेटौँडा/लायन्स क्लब अफ हेटौँडा बजार ग्रिनसिटीले हेटौँडाको नवलपुरमा रहेको मामाघर नेपाललाई खाद्यान्न सहयोग प्रदान गरेको छ । मामाघर नेपालमा आश्रित बालबालिकाका लागि आवश्यक विभिन्न खाद्यान्न सामग्री सहयोग गरिएको हो ।
क्लबका अध्यक्ष दीपेशमणि भण्डारीको नेतृत्वमा कार्यक्रम संयोजक राजदेव बानिया, कार्यक्रम व्यवस्थापक दीपक बर्णवाल तथा क्लबका पूर्वअध्यक्ष राजेश वाग्लेसहितको टोलीले मामाघर नेपाल पुगेर खाद्यान्न हस्तान्तरण गरेको हो ।
सेवा सप्ताहको अवसर पारेर उक्त सहयोग कार्यक्रम आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष वाग्लेले जानकारी दिनुभयो । क्लबले यसअघि पनि अक्सिजन बैंक सञ्चालन, सडकआश्रित व्यक्तिलाई निःशुल्क भोजन सेवा लगायतका सामाजिक कार्य गर्दै आएको छ ।
लायन्स क्लब अफ हेटौँडा बजार ग्रिनसिटीले यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।








