हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा सञ्चालन हुने सवारी साधनका केही चालकले लागूऔषध सेवन गरेर सवारी चलाउँदै आएको तथ्य सार्वजनिक भएको छ।
मंगलबार भीमफेदी अस्पतालका चिकित्सक प्रविण पाठकसहितको टोलीले १११ जना सवारी चालकको पिसाब परीक्षण गर्दा ११ जना चालकमा लागूऔषध सेवन गरेको पुष्टि भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा तथा सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौंडाको संयुक्त चेकजाँचका क्रममा उक्त तथ्य फेला परेको हो।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागूऔषध सेवन गर्ने ११ जनामध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन्। उनीहरूमध्ये ६ जना टाटा सुमो चालक र ३ जना ईभी गाडी चालक हुन्। बाँकी दुई जना फलफूल र माछा बोक्ने सवारी साधनका चालक रहेका छन्।
पहाडी क्षेत्रको घुमाउरो र साँघुरो सडकमा दुर्घटनाको जोखिम बढ्दै गएपछि ट्राफिक प्रहरीको समन्वयमा सवारी साधन तथा चालकको परीक्षण सुरु गरिएको हो। गत पुस २० गते भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए। घाइतेको उपचार अझै जारी रहेको प्रहरीले जनाएको छ।
यात्रुको ज्यान जोखिममा पार्दै लापरबाहीपूर्वक सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको र उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फुँयालले जानकारी दिनुभयो।








