थारु कला संस्कृति संरक्षण गर्न आजदेखि चितवनको खैरहनीमा ११औं खिचरा महोत्सव–२०८२’ सुरु भएको छ ।
खैरहनी–५ गौचरनमा सुरु भएको खिचरा महोत्सवको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले मंगलबार समुद्घाटन गरेका छन् ।
मन्त्री पौडेलले थारु समुदायको महत्वपूर्ण चाड माघी ९खिचरा० पर्वको संरक्षण गर्न महोत्सव नै आयोजना गर्नु सकरात्मक कदम भएको बताएका छन् । उनले कृषिसँग घनिष्ठ सम्बन्ध रहेको थारु समुदायको उत्थानका लागि प्रदेश सरकार सदैव तयार रहेको बताए ।
“आफ्नो संस्कृति नयाँ पुस्तालाई सिकाउनु आवश्यक छ । कृषि मन्त्रालयको तर्फबाट थारु समुदायको कृषि पद्धतिलाई कसरी अझ राम्रो र आधुनिक बनाउन सकिन्छ, त्यसका लागि बागमती प्रदेश सरकारले विशेष सहयोग गर्नेछ,” मन्त्री पौडेलले भने ।
सम्बोधनका क्रममा मन्त्री पौडेलले भदौ २३ को आन्दोलनलाई युवा विद्रोहको रूपमा व्याख्या गरेका छन् । तर, सोही आन्दोलनलाई दुरुपयोग गरेर २४ गते देश जलाउने काम भएको भन्दै उनले आक्रोश व्यक्त गरे । “युवा विद्रोहलाई दुरुपयोग गरेर हिंसा मच्चाउने र देश जलाउने तत्वहरूलाई जनताले चिन्न जरुरी छ,” उनले थपे ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव समुद्घाटन अघि झाकी सहितको शोभा यात्रा निकालिएको थियो । चितवनका थारु समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टल रहेको छ । यस्तै महोत्सव परिसरमा थारु कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ ।








