
मकवानपुरको कैलाश गाउँपालिकाले आन्तरिक स्रोतबाट थप २ करोड ५१ लाख रुपैयाँको संशोधित बजेट पारित गरेको छ । बिहीबार बसेको १७औँ गाउँसभाले उक्त बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा प्रस्तुत गरेको संशोधित बजेट कार्यक्रमलाई अध्यक्ष लोकबहादुर मुक्तानले निर्णयार्थ पेश गरेका थिए । सभामा उपस्थित कार्यपालिका सदस्यहरूले बजेट सर्वसम्मत रूपमा पारित गरेका हुन्।
संशोधित बजेट अनुसार गाउँपालिकाले चालु खर्चतर्फ आन्तरिक स्रोतबाट ९ करोड ४२ लाख र पूँजीगततर्फ १५ करोड ४८ लाख रुपैयाँ गरी कुल २४ करोड ९१ लाख रुपैयाँ कार्यान्वयनमा लैजाने भएको छ । यसअघि गत असार १० गते गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा समावेश विशेष तथा सशर्त अनुदानको रकम भने संशोधन गरिएको छैन।
संशोधन क्रममा १७ वटा आयोजना कटौती तथा हटाइएका छन् भने ४३ वटा नयाँ योजना थप गरिएको छ । यसैगरी १४ योजनामा बजेट घटाइएको छ भने ४ योजनामा बजेट थप गरिएको छ।
सभामा विधायन समितिका संयोजक भुवनसिंह घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक, बेरुजु फस्र्यौट कार्यविधि–२०८२, लेखा समिति गठन तथा सञ्चालन कार्यविधि र गाउँसभा सचिवालय स्थापना तथा सञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए । उपाध्यक्ष मल्ल ठकुरीले चालु आर्थिक वर्षको विनियोजन ऐन, बजेट तथा कार्यक्रमको संशोधित अनुमानसम्बन्धी विभिन्न एजेन्डा प्रस्तुत गरेका थिए।
चेली प्रोत्साहनसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मानित
गाउँसभाको अवसरमा चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत चेलीहरू सहित विभिन्न क्षेत्रका कर्मचारी तथा व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको छ। १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा भएपछि विवाह गरेका ७ जना चेलीलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। सम्मानित हुनेमा कैलाश–९ की आइस्का थापा, कैलाश–१० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश–१ की विमला थापामगर र रीता थापामगर, कैलाश–२ की पुष्पा प्रजा तथा कैलाश–५ की सिर्जना दर्लामीमगर रहेका छन्।
स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैया सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदी सम्मानित भए।
त्यस्तै, प्रशासन तथा प्राविधिकतर्फ सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, सब–इन्जिनियर धिरेन्द्र राई, वडा सचिव नितेश कुमार यादव, सामाजिक परिचालक राजकुमार मुक्तान र कार्यालय सहयोगी विशाल मुक्तानलाई सम्मान गरिएको छ।
शिक्षा क्षेत्रतर्फ एसईईमा उत्कृष्ट नतिजा ल्याउने कमलादेवी माध्यमिक विद्यालय, उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्याङ्बो, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलान सम्मानित भएका छन्। साथै सेवा निवृत्त पूर्व प्रधानाध्यापक मोहन शिवाकोटी, प्रधानाध्यापकद्वय देवेन्द्र प्रसाद यादव र निर्मला सिन्तान, विभिन्न तहका शिक्षक, बाल विकास सहजकर्ता तथा विद्यालय कार्यालय सहयोगीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो।
यसैगरी सञ्चारकर्मीतर्फ प्रष्टखबर डटकमका सुनिल शिवाकोटी, निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक सुनिल शर्मा, उपभोक्ता समितितर्फ वाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ र कृषकतर्फ सूर्यबहादुर थिङलाई सम्मान गरिएको छ।







