नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यसैगरी मकवानपुरबाट क्षेत्र नम्बर १ बाट रामेश्वर राना र क्षेत्र नम्बर २ महेश बर्तौलालाई तोकिएको छ।
यससँगै २०७९ सालको निर्वाचनमा रोकिएको उम्मेदवारीको ‘ऋण’ तिर्दै एमालेले यसपटक मकवानपुर–१ बाट रामेश्वर रानालाई टिकट दिएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले मकवानपुर–१ मा साबिक राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गर्ने निर्णय गरेको थियो। सो निर्वाचनमा एमालेले जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको भए पनि अन्तिम समयमा उनको उम्मेदवारी फिर्ता गराउँदै कमल थापालाई सूर्य चिन्हसहित समर्थन गर्ने निर्णयमा पार्टी पुगेको थियो। यस कारण राना उम्मेदवार बन्नबाट वञ्चित भएका थिए।
यसपटक भने एमालेले आफ्नै नेता तथा मकवानपुर इन्चार्जसमेत रहेका रामेश्वर रानालाई मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। राना २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार कुमारी मोक्तानसँग पराजित भएका थिए। त्यसयता लामो समयपछि उनले पुनः प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी पाउने अवसर पाएका हुन्।
उल्लेखनीय छ, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट राप्रपाका नेता दीपकबहादुर सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका थिए।







