निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जिज्ञासा समाधानका लागि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार विजयी भई प्रमाणपत्र प्रदान नहुन्जेलसम्म उक्त सेवा सञ्चालनमा रहनेछ।
प्रवक्ता भट्टराईले ‘कल सेन्टर’ मा छ वटा डेस्क स्थापना गरिएको जानकारी दिनुभयो। ती डेस्कमार्फत एकैसाथ मतदाताका जिज्ञासा समाधान गरिनेछ भने कामको चापअनुसार डेस्क संख्या थप गर्न सकिने पनि उहाँले बताउनुभयो।
‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट पहिलो पटक फोन गर्ने व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुँदैन भन्ने जिज्ञासा राख्नुभएको थियो। सो जिज्ञासामा ‘कल सेन्टर’ का अधिकारीहरूले यसअघि नै तय भइसकेका परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने स्पष्ट जवाफ दिएका थिए।
आयोगका अनुसार ‘कल सेन्टर’ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै पनि जानकारी आवश्यक भएमा मतदाता तथा सरोकारवालाले टोल फ्री नम्बर ११०२ मा सम्पर्क गर्न सक्नेछन्।







