हेटौडामा २८६२ औँ घोडावर्ग सोनाम ल्होछारको अवसरमा बृहद् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। हेटौडा उपमहानगरपालिका–१३ स्थित तासी छोइलिङ गुम्बा परिसरमा २०८२ सालमा आयोजना हुने उक्त कार्यक्रमबारे बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
कार्यक्रममा तामाङ समुदायको विविध सांस्कृतिक पक्ष झल्काउने झाँकी प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको गायन तथा नृत्य प्रस्तुति रहनेछ।
कार्यक्रम संयोजक तथा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष उद्धव कुमार मोक्तानले गायिका पूजा लामा, धिरेन लामा साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा रैथाने बाली तथा मौलिक परम्परा झल्कने परिकारहरूको प्रदर्शनी स्थल समेत राखिनेछ।
आयोजकका अनुसार तामाङ समुदायको मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम सञ्चालनका लागि करिब ७ देखि ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त खर्च हेटौडा उपमहानगरपालिका वडा कार्यालय तथा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त सहयोगबाट व्यवस्थापन गरिने जनाइएको छ।
कार्यक्रममा पाँच हजारदेखि छ हजारसम्म दर्शक सहभागी हुने अनुमान गरिएको छ। सोनाम ल्होछारको बृहद् सांस्कृतिक कार्यक्रमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले गर्ने कार्यक्रम रहेको छ।
पत्रकार सम्मेलनमा १३ नम्बरका वडाध्यक्ष पेम्बा लामा, कार्यक्रमका सहसंयोजक रमेश लुम्बा, युवा व्यवसायी गुणा थिङ लगायत समिति सदस्यहरूको उपस्थिति रहेको थियो।







