निर्वाचन आयोगले घृणास्पद, मानहानीपूर्ण र अपमानजनक भाषा प्रयोग नगर्न बारम्बार निर्देशन तथा सूचना दिँदै आएको बेला मकवानपुरमा एक प्रतिष्ठित उम्मेदवारको अभिव्यक्तिले विवाद सिर्जना गरेको छ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह ले महिला उम्मेदवारलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेका छन्। बिहीबार बिहान हेटौंडा–६ स्थित हात्तिलेटमा मतदातासँग भेटघाट गर्ने क्रममा उनले “जुँगा समात्ने कि पेटिकोटको तुना, तपाइँहरूको विचार” भन्ने अभिव्यक्ति दिएका हुन्।
उनको यो टिप्पणी नेपाली कांग्रेसबाट सोही क्षेत्रकी उम्मेदवार तथा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना लाई लक्षित रहेको स्थानीयले बताएका छन्। सिंहले उक्त टिप्पणी नेपाली कांग्रेसबाट निर्वाचित छ नम्बर वडाका वडा अध्यक्ष विष्णु दाहाल र वडा सदस्य विजय पौडेलको उपस्थितिमा भनेका थिए। साथै राप्रपाका नेता गुरुप्रसाद सापकोटा, नेकपा एमालेका नेता विश्वराज राई तथा स्थानीय सर्वसाधारणको उपस्थिति थियो।
सिंहको अभिव्यक्तिपछि त्यहाँ उपस्थित मतदाता अचम्मित परेका थिए। धेरैले यसलाई महिलाप्रति असम्मानजनक र विभेदकारी भाषा भन्दै आपत्ति जनाए। एक स्थानीयले भने, “पहिले जनताको माया पाएर चुनाव जितिसकेका नेताबाट यस्तो स्तरको भाषा अपेक्षित थिएन। उनको शब्दले महिलाप्रतिको दृष्टिकोण स्पष्ट देखिन्छ।”
महिलाको सम्मान, समानता र मर्यादाको कुरा गर्ने निर्वाचन प्रक्रियामै यस्ता शब्द प्रयोग हुनु गम्भीर विषय भएको भन्दै स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूले आलोचना गरेका छन्। उनीहरूले प्रश्न उठाएका छन्, यस्ता अभिव्यक्ति दिने व्यक्तिले कसरी जिम्मेवार कानुन निर्माण र महिलाको सम्मान सुनिश्चित गर्न सक्छ?
उक्त घटनापछि सामाजिक सञ्जालमा समेत तीव्र प्रतिक्रिया देखिएको छ भने निर्वाचन आयोगको निर्देशनको उल्लङ्घन भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।







