हेटौँडा/नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहका साथ निर्वाचन अभियानमा जुटेको बताएका छन्।
नेकपा एमाले हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै रानाले हेटौँडा–४, ६, ७ र १४ नम्बर वडाका अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएको र निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे। उनले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले गर्दै आएको उल्लेख गरे। आगामी दिनमा पनि सोही जिम्मेवारी पूरा गर्न एमालेले बहुमत ल्याउनु देशको आवश्यकता रहेको उनको भनाइ थियो।
रानाले प्रतिस्पर्धी दलहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्दै निष्पक्ष रूपमा जित हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पार्टीको केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले विकास र समृद्धिका लागि एमालेले निर्वाह गरेको भूमिकाका कारण मकवानपुरमा प्रतिनिधिसभाका दुवै सिट एमालेले जित्ने निश्चित रहेको बताए। उनले सबै पार्टी पंक्ति एकजुट भएर संगठन सुदृढ बनाउँदै कार्यकर्ता परिचालनमार्फत पार्टीमाथि भएको चौतर्फी आक्रमणको प्रतिरोध गर्नुपर्नेमा जोड दिए।
भेलामा जिल्ला सदस्य तथा वडा नं. ४ का इञ्चार्ज शिवहरी दाहालले निर्वाचन तयारीबारे जानकारी गराएका थिए। पार्टी वडा अध्यक्ष नानिराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको वडा सचिव गीता त्रिपाठीले जानकारी दिइन्।







