हेटौँडा/हेटौँडा उपमहानगरपालिका–१९ लेखपानीमा अवस्थित जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि किवानिज क्लब अफ हेटौँडाले खाद्यान्न सहयोग वितरण गरेको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबले ३९ जना विद्यार्थीका लागि दिवा खाजाको व्यवस्थापन गर्न ३५ बोरा चामल हस्तान्तरण गरेको हो। विद्यालयमा अध्ययनरत धेरै बालबालिका घरमा खाना अभावका कारण भोकै विद्यालय आउने तथा कतिपय विद्यार्थीहरू पढाइबाटै वञ्चित हुन थालेको अवस्था देखिएपछि समाजसेवी कमल चन्द्र सुमन र हिमा बिडारीले क्लबको ध्यानाकर्षण गराएका थिए। सोही अनुरोधपछि आवश्यकताको महसुस गर्दै क्लबले सहयोग उपलब्ध गराएको जनाएको छ।
कार्यक्रममा बोल्दै किवानिज क्लब अफ हेटौँडाका अध्यक्ष रत्नदेव बज्राचार्यले महानगरपालिका भित्रै यति दयनीय अवस्था देख्दा दुःख व्यक्त गर्दै मानवीय संवेदनाका आधारमा आवश्यक परे पुनः सहयोग गर्ने प्रतिबद्धता जनाए।
क्लब अध्यक्ष रत्नदेव बज्राचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष कालिबहादुर घलान, प्रधानाध्यापक कुमार सिंह गोले, विद्यालय व्यवस्थापन समिति सदस्य भिमलाल गोले, किवानिज क्लबका निवर्तमान अध्यक्ष गंगा प्रसाद पौडेल, सचिव श्रृजनराज बज्राचार्य, प्रथम महिला निजिला शाक्य, समाजसेवी कमल चन्द्र सुमन, हिमा बिडारीलगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोलेले दाताहरूको सहयोगपछि विद्यालयमा उल्लेखनीय सुधार आएको बताउँदै विद्यार्थीको नियमितता र पढाइप्रतिको आकर्षण बढेको उल्लेख गरे। “विद्यार्थी नियमित भएका छन् र सिकाइप्रति चासो बढेको छ,” उहाँले भन्नुभयो।
खाद्यान्न सामग्री किवानिज क्लबका संस्थापक अध्यक्ष ज्योतिरत्न बज्राचार्य तथा हेटौँडा मोडल अस्पतालका सञ्चालक डा. बसन्तमान श्रेष्ठको सौजन्यमा उपलब्ध गराइएको थियो।
किवानिज क्लब अफ हेटौँडा सन् २०२१ मा स्थापना भएको हो भने किवानिज इन्टरनेशनल सन् १९१५ मा अमेरिकामा स्थापना भएको संस्था हो। बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थापित यो संस्था हाल नेपालका ६५ भन्दा बढी जिल्लामा शिक्षा, स्वास्थ्य, नेतृत्व विकास, खेलकुद र वातावरणका क्षेत्रमा सक्रिय रूपमा कार्यरत छ।







