कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय माध्यमिक विद्यालय (मावि) वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माध्यमिक विद्यालयकी सदिक्षा गुरुङ प्रथम भएकी छन्। सोमबार सम्पन्न प्रतियोगितामा उनले “सामाजिक सञ्जाल: अवसर कि चुनौती” विषयमा आफ्ना विचार प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेकी हुन्।
प्रथम भएकी गुरुङले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्। सोही विद्यालयका अभिषेक सारुमगर द्वितीय हुँदै नगद ७ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने कालिका माध्यमिक विद्यालयका कृष मोक्तान तृतीय भई नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा ९ जना विद्यार्थीको सहभागिता रहेको थियो।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष मोक्तानले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र वाक्–कलाको प्रस्तुतीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। समयसापेक्ष विषयवस्तु भएकाले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबारे ज्ञान अभिवृद्धि हुने उनको भनाइ थियो। उनले गुगल र च्याटजिपिटीमा अत्यधिक निर्भरता बढ्दा पठन–पाठन र सिर्जनात्मक सोचमा कमी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरे। सामाजिक सञ्जालको दुरुपयोगबाट मानव बेचबिखन, दुर्व्यवहार र हिंसाजस्ता घटना बढिरहेको उल्लेख गर्दै सबैको ध्यान यसतर्फ जानु आवश्यक रहेको उनले बताए।
उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले यस्ता कार्यक्रमले विद्यार्थीको तार्किक र बौद्धिक क्षमता वृद्धि गर्ने बताए। सामाजिक सञ्जालको सदुपयोगले विकास र दुरुपयोगले विनाश निम्त्याउन सक्ने उनको भनाइ थियो।
प्रतियोगितामा शिक्षा शाखा प्रमुख समीर जोशी, शिक्षिका धनकुमारी जोशी र शिक्षक सीताराम श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए।







