हेटौंडा सडक विस्तारसम्बन्धी विवादमा दायर रिट निवेदनमाथि आज सुनुवाइ सम्पन्न भएको छ। पटक–पटक हेर्न नभ्याइने तथा नमिल्ने कारण देखाउँदै स्थगित हुँदै आएको पेशी सातौँ पटक न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा परेको थियो।
सडक विस्तार विवादको मुद्दामा बहस सकिए पनि अपेक्षा गरिएअनुसारको आदेश आज नआउने भएको छ। विन्दवासिनी कंसाकार, महारत्न बज्राचार्यलगायत तीन जनाले दायर गरेको रिटमा समान प्रकृतिको अर्को रिट थपिएकाले मुद्दा ‘लगाब’मा राख्ने विषयमा मात्र आजको सुनुवाइ केन्द्रित भएको हो। यसका कारण सडक विस्तार विवादको टुंगो लगाउने खालको आदेश आज नआउने बहसमा सहभागी एक अधिवक्ताले जानकारी दिए।
आजको सुनुवाइमा विपक्षीको तर्फबाट महान्यायाधिवक्ताको कार्यालय तथा हेटौंडा उपमहानगरपालिकाका अधिवक्ताले बहस गरेका थिए।
उक्त मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग पाटनढोका ललितपुर, सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय हेटौंडा मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा हेटौंडा उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ।
गत मङ्सिर १६ गते दर्ता भएको यो मुद्दा यसअघि विभिन्न मितिमा छ पटकसम्म ‘हटिसकेको’ थियो। पटक–पटक पेशी सर्दा सुनुवाइ हुन नसक्दा हेटौंडा सडक विस्तारको काम अझै अन्योलमै रहेको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले सडक विस्तारमा भइरहेको ढिलाइका कारण दैनिक आवतजावत, व्यापार व्यवसाय र समग्र शहरी व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको गुनासो गर्दै आएका छन्। आजको पेशीले मुद्दाको दिशा तय गर्ने र सडक विस्तारको भविष्यबारे स्पष्टता आउने अपेक्षा गरिएको भए पनि अर्को रिट थपिएकाले आदेश नआउँदा सडक विस्तारको काम अघि बढ्ने वा नबढ्ने विषय अझै अनिश्चित बनेको छ।







