आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरीमा राजनीतिक सरगर्मी बढेको छ । नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश कुमार बर्तौलाले नेकपाका मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्दिमाया तामाङ (कमरेड मनिषा) लगायतका नेताहरूलाई पार्टीमा स्वागत गर्नुभयो । पार्टी प्रवेशपछि बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा फर्किन पाउँदा आफ्नै घर फर्किएको अनुभूति भएको बताउँदै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अघिल्लो निर्वाचनमा महेश बर्तौलाको विपक्षमा उभिएर विरोध खतिवडाको चुनावी कमान्ड सम्हालेका संविधान सभा सदस्य राजाराम स्याङ्तान यसपटक भने बर्तौलाको मुख्य चुनावी कमान्डरको भूमिकामा देखिनुभएको छ । बैठकमा स्याङ्तानले विगतमा आफूलाई संविधान सभा सदस्य बनाउन सहयोग गरेका बर्तौलालाई यसपटक मनदेखि सहयोग गर्ने उद्देश्यले निर्वाचन परिचालन कमिटीको सह–संयोजकको जिम्मेवारी लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा मनहरीका पूर्व अध्यक्ष एकाराज उप्रेतीले मनहरीको दीर्घकालीन समस्या बनेको ‘मध्यवर्ती क्षेत्र’ समाधानका लागि बर्तौलाको विकल्प नभएको उल्लेख गर्नुभयो । उम्मेदवार बर्तौलाले आफ्नो ३२ महिनाको संसदीय कार्यकालको समीक्षा गर्दै जनताले दिएको बाँकी जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान र मध्यवर्ती क्षेत्रसँग सम्बन्धित कानुनी जटिलता फुकाउन नीतिगत तहमै काम सुरु भइसकेको दाबी गर्नुभयो ।
बैठकले फागुन २१ गतेको निर्वाचनका लागि मनहरी क्षेत्रमा एमालेको संगठन पूर्ण रूपमा परिचालन गर्ने निर्णय गरेको छ । कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य भारती पाठक, जिल्ला कमिटी सदस्यहरू बिरेन्द्र डिसी, लक्ष्मण उप्रेती, कृष्ण लामिछाने, शिवकुमार रिजाल, गीता प्रजा, बर्तौलाका चुनावी फोकल व्यक्ति आशिष अस्लामी, विद्यार्थी नेता नेरा प्रभाष घिमिरेलगायतको उपस्थिति रहेको थियो ।







