मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। ईमानदार, कर्मठ र सादगी नेताका रूपमा चिनिएका रानाको उम्मेदवारीले एमालेका कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन्।
राना २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापतिमा निर्वाचित हुँदा गरेका विकासमुखी कामहरू अझै पनि जनतामाझ स्मरणीय छन्। उनले चुरे संरक्षण, सडक सञ्जाल विस्तार तथा मकवानपुरको एकीकृत विकासको अवधारणा अघि सारेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका रानाले त्यसयता पटक–पटक नेतृत्वका अवसर गुमाउनुपरे पनि पार्टीप्रतिको जिम्मेवारीबाट कहिल्यै पछि हटेनन्। एकीकृत नेकपा माओवादीसँगको एकताका बेला तथा अघिल्लो निर्वाचनमा सूर्य चिन्हबाट कमल थापा उम्मेदवार बनेपछि उनले अन्तिम समयमा निर्वाचन लड्ने अवसर गुमाएका थिए।
राजनीतिक यात्रा २०३६ सालको आन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु गरेका रानाले २०३८ मा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हाले। २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका उनी हेटौंडा नगर कमिटी हुँदै एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य भए।
२०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल जिल्ला नेतृत्वको जिम्मेवारी सम्हालेका छन्। बागमती प्रदेश कमिटी सदस्य हुँदै चार कार्यकाल केन्द्रीय सदस्यका रूपमा काम गरेका राना एमालेको ११औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
स्थानीय तहमा पनि सक्रिय भूमिका निर्वाह गरेका राना २०४९ सालमा हेटौंडा नगरपालिका–११ का वडा अध्यक्ष तथा २०५४ सालमा जिल्ला विकास समिति सभापतिमा निर्वाचित भएका थिए। विकास अध्ययनका क्रममा उनले चीन, भारत र बंगलादेशलगायत देशहरूको भ्रमणसमेत गरेका छन्।
उनको सादगीपन, अनुभव र निरन्तर राजनीतिक योगदानलाई यस क्षेत्रका मतदाताले सकारात्मक रूपमा लिएको एमालेले जनाएको छ।







