नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बर्तौलाको राजनीतिक जीवन २०५३ सालबाट सुरु भएको हो। मकवानपुरको कालिका मावि, नामटारमा कक्षा ७ मा अध्ययनरत रहँदा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बनेसँगै उनी संगठित राजनीतिमा प्रवेश गरेका थिए।
अनेरास्ववियुको इलाका र क्षेत्रीय कमिटी हुँदै बर्तौला २०६० र २०६३ सालमा दुई कार्यकाल जिल्ला अध्यक्ष निर्वाचित भए। उच्च शिक्षाका क्रममा मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा २०६० सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य बनेका उनी २०६२ र २०६५ सालमा सोही क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए।
२०६५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका बर्तौलाले पछि केन्द्रीय सचिव, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाले। उनी स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको राष्ट्रिय अध्यक्षसमेत बनेका छन्।
विद्यार्थी राजनीतिसँगै पार्टी राजनीतिमा सक्रिय बर्तौला २०६३ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य निर्वाचित भए। माओवादी सशस्त्र युद्धका बेला उनले मकवानपुरका विकट भूगोल नामटार, कालिकाटार र भार्ताको इन्चार्जको जिम्मेवारी सम्हाले।
२०७६/०७७ मा वागमती प्रदेश कमिटी सदस्य हुँदै उपमहासचिवको भूमिकामा सक्रिय रहेका उनी एमाले–माओवादी एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्य बने। २०८० मा एमालेको मनोनित केन्द्रीय सदस्य र २०८२ को ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रभावशाली नेता तथा आफ्ना राजनीतिक गुरु बिरोध खतिवडालाई पराजित गर्दै बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए। संसदमा उनले एमालेको सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको जिम्मेवारीसमेत निर्वाह गरे।
संसदमा उनले कानून, न्याय तथा मानव अधिकार समिति, प्रतिनिधि सभा–राष्ट्रिय सभाको संयुक्त समिति लगायत विभिन्न संसदीय समितिमा सक्रिय भूमिका निर्वाह गरेका छन्। अन्तर्राष्ट्रियस्तरमा संयुक्त राष्ट्रसंघको सभा (अमेरिका), बेलायतमा संसदीय अध्ययन भ्रमण, स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न अन्तर–संसदीय संघ (IPU) सभा तथा चीन र भारत भ्रमणमार्फत उनले अन्तर्राष्ट्रिय राजनीति र विकाससम्बन्धी अनुभव हासिल गरेका छन्।
४२ वर्षको उमेरमै उल्लेखनीय राजनीतिक सफलता हासिल गरेका बर्तौला शैक्षिक रूपमा पनि अब्बल छन्। व्यवस्थापन संकाय र राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) पूरा गरिसकेका उनी विधिशास्त्रका विद्यार्थीसमेत हुन् र एलएलबी उत्तीर्ण गरेका छन्।
हाल उनी २०८२ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट दोस्रोपटक प्रतिस्पर्धामा छन्। युवामाझ मात्र होइन, सबै उमेर समूहका मतदातामाझ लोकप्रिय नेताका रूपमा बर्तौलाको राजनीतिक यात्रा निरन्तर प्रगतिशील देखिएको छ।







