आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहा नगर कमिटीले चुनावी तयारीलाई तीव्र पारेको छ । शनिबार थाहा नगरस्थित जेसिस हलमा सम्पन्न नगरस्तरीय विस्तारित भेलाले ९१७ सदस्यीय विशाल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
भेलाले बलराम बलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरेको हो । कमिटीको सह–संयोजकमा चित्रबहादुर बलामी, अच्युतम ढकाल र कल्पना बलामी चयन भएका छन् भने सचिवको जिम्मेवारी सुरेन्द्रमान प्रधानलाई दिइएको छ । स्वयंसेवक परिचालनको जिम्मा सुमन रायमाझीलाई, प्रचार कमिटीको जिम्मेवारी सुजन रायमाझीलाई तोकिएको छ । आर्थिक व्यवस्थापन कमिटी बिमल ढकालको संयोजकत्वमा गठन गरिएको छ भने बुद्धरत्न मानन्धरको संयोजकत्वमा १७ सदस्यीय अनुगमन कमिटी निर्माण गरिएको छ ।
यसैगरी थाहा नगरका १० वटै वडामा निर्वाचन परिचालन कमिटीका संयोजक र सह–संयोजकहरू तोकिएको एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीले जानकारी दिनुभयो ।
भेलाका प्रमुख अतिथि एमाले नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाको प्रशंसा गर्दै उहाँमा पूर्वसभामुख सुभाष नेम्बाङको झल्को देखिएको बताउनुभयो । कानूनको अध्ययन र अभ्यासमा दक्ष, मृदुभाषी र सभामुख तथा मन्त्री जस्ता जिम्मेवारी सहजै निर्वाह गर्न सक्ने क्षमता बर्तौलामा रहेको भन्दै उहाँलाई विजयी गराउन आग्रह गर्नुभयो । वर्तमान राजनीतिक माहोलले शिक्षित र सक्षम युवा नेतृत्व खोजिरहेको उल्लेख गर्दै पार्टीले बर्तौलालाई उपयुक्त जिम्मेवारी दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उम्मेदवार महेश बर्तौलाले छोटो कार्यकालमै जनसरोकारका विषय संसदमा प्रभावकारी रूपमा उठाएको दाबी गर्नुभयो । “संसद चल्दा संसदभित्र र नचल्दा जनताको दैलोमा छु,” उहाँले भन्नुभयो, “थाहा, भीमफेदी र राक्सिराङका भूगोलगत समस्या सरकारसम्म पुर्याउन मैले कुनै कसर बाँकी राखेको छैन।”
एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष हिदम लामाले बर्तौलालाई एमबिबिएस, एमपिए र एलएलबी जस्ता उच्च शिक्षा हासिल गरेका योग्य युवा उम्मेदवारका रूपमा चित्रण गर्नुभयो । जातीय वा सम्प्रदायिक भ्रमबाट मुक्त भएर थाहा नगरको पहिचान र विकासका लागि बर्तौला नै उपयुक्त उम्मेदवार भएको उहाँको भनाइ थियो ।
भेलाकै अवसरमा नेपाली काँग्रेस परित्याग गर्दै ८६ वर्षीय वीरबहादुर गोले एमाले प्रवेश गर्नुभएको छ । लामो समय काँग्रेसमा आबद्ध रहनुभएका गोलेले एमालेको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गर्नुभएको हो ।
भेलामार्फत एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आगामी माघ २० गते थाहा नगरका सबै वडामा एकैसाथ विस्तारित बैठक आयोजना गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भारती पाठक, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला उपाध्यक्ष हिदम लामा, नेतृ कल्पना बलामी, रामहरी लामिछाने, अनेमसंघ जिल्ला सचिव सुशीला मल्ललगायत नेताहरूको उपस्थिति रहेको थियो ।







