नेकपा (एमाले) का युवा नेता तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार महेश कुमार बर्तौला चुनावी अभियानका क्रममा इन्द्रसरोवर गाउँपालिकाका विभिन्न वस्तीमा मतदातासँग भेटघाट र अन्तरक्रियामा व्यस्त छन्। अभियानका क्रममा स्थानीय मतदाताबाट बर्तौलाप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ।
भेटघाटका क्रममा बर्तौलाले आफ्नो अघिल्लो कार्यकालमा नीति निर्माण र क्षेत्रीय विकासमा खेलेको भूमिकाबारे स्पष्ट पार्दै बाँकी रहेका योजनाहरू सम्पन्न गर्न पुनः जनताको साथ आवश्यक रहेको बताए। उनले अघिल्लो कार्यकालमा जनताको पक्षमा संसदमा आवाज उठाएको दाबी गर्दै अधुरा विकास आयोजना पूरा गर्न आफूलाई पुनः अनुमोदन गर्न आग्रह गरे।
स्थानीय मतदाताहरूले बर्तौलालाई सधैं सुख–दुःखमा साथ दिने नेताका रूपमा चित्रण गरेका छन्। स्थानीय अगुवा धनवीर स्याङतानले कतिपय नेता चुनावी समयमा मात्र गाउँ आउने गरे पनि बर्तौला निरन्तर जनताको बीचमा रहने र संसदमा स्थानीय एजेन्डा उठाउने नेता भएको बताए।
अन्तरक्रियाका क्रममा २९ वर्षीय मनोज तामाङले सडक पूर्वाधारको समस्या औँल्याउँदै ‘नयाँ गाउँ सडक’ निर्माणका लागि बजेट व्यवस्थापन गर्न माग गरे। त्यस्तै, ६७ वर्षीय सन्तमान लामाले आफूहरू पुराना र निष्ठावान मतदाता भएकाले यसपटक पनि ‘सूर्य’ चिन्हमै मतदान गर्ने बताए।
नयाँ गाउँका जितबहादुर घिसिङले गाउँबाट विद्यालय टाढा हुँदा बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको गुनासो गर्दै गाउँमै विद्यालय स्थापना गर्न ध्यानाकर्षण गराए। यस विषयमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, इन्द्रसरोवर–५ की नमिता विश्वकर्माले महिलाको आर्थिक अवस्था सुधारका लागि उद्यमशीलता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
समानुपातिकतर्फका उम्मेदवार मेम्बर लो तामाङले विभिन्न चुनौतीका बाबजुद एमाले संगठन सुदृढ रहेको र कार्यकर्ता पंक्ति सचेत रहेको दाबी गरे।
आइतबार बर्तौलाले इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर १ र २ का मार्खु, सिम्लाङ, ठूलो नयाँगाउँ, सानो नयाँगाउँ तथा वडा नम्बर ४ र ५ का फाखेल पौवा र चखेलमा शुभेच्छुकसँग भेटघाट तथा छलफल गरेका थिए।
निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार ती क्षेत्रमा भएको अन्तरक्रियाबाट मतदाताले पुनः एमाले रोज्ने स्पष्ट संकेत दिएका छन्। कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नारायण रिजाल, जिल्ला सदस्य बुद्धिराम डिम्डुङ, युवा संघका केन्द्रीय सदस्य राजन लामा, गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, पार्टी गाउँपालिका अध्यक्ष चिरञ्जीवी पौडेल र सचिव राजु बस्नेतलगायतको उपस्थिति रहेको थियो।







