नेकपा एमालेका नेता गोकुल बास्कोटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
चुनावी प्रचार अभियानका क्रममा मकवानपुर पुग्नुभएका नेता बास्कोटाले थाहानगरतर्फ जाने क्रममा आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। उहाँले सामाजिक सञ्जालमार्फत यात्रा अनुभव साझा गर्दै राजनीति र प्रकृतिबीचको दृष्टिभ्रमलाई रोचक ढंगले प्रस्तुत गर्नुभएको छ।
‘अग्लो ठाउँबाट परको हिमाल आफुभन्दा होचो र धुम्मैलो देखिन्छ, अझ तलको थानकोट चन्द्रमाको क्रेटरजस्तै लाग्छ,’ भन्दै उहाँले उचाइबाट हेर्दा मानिसहरू समेत कमिलाजस्तै देखिने अनुभूति भएको उल्लेख गर्नुभएको छ। यस्तो अनुभवले राजनीति र प्रकृतिको मिश्रित दृष्टिभ्रमको अलग्गै मज्जा दिने उहाँको भनाइ छ।
यस्ता अनुभूतिका बीचमा पनि नेता बास्कोटाले मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। ‘तर महेश सानदार जित्नुहुन्छ,’ उहाँले स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ।
नेता बास्कोटाको उक्त अभिव्यक्तिलाई नेकपा एमालेले चुनावी माहोलमा उत्साहजनक सन्देशका रूपमा लिएको छ।







