
नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले संसदमा मौन बस्ने वा पछाडि बसेर निदाउने नभई जनताको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।
चुनावी तयारी अन्तर्गत शुभचिन्तक भेटघाट कार्यक्रमका क्रममा इन्द्रसरोवर गाउँपालिकाका विभिन्न वडामा पुगेका बर्तौलाले संसदमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका हुन्।
“म संसदमा अगाडि बसेरै ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने मान्छे हुँ, पछाडि बसेर निदाउँदिन,” उनले मतदातामाझ भने, “तपाईंहरूको अमूल्य मतलाई भोलिको विश्वासमा बदल्ने गरी काम गर्नेछु।”
भेटघाटका क्रममा इन्द्रसरोवर–१ भालुखर्कका तिलक बहादुर नेगीले कृषि उपजको बजारीकरणका लागि ज्यामिरे–गोगने–भालुखर्क–घैयाडाँडा सडक स्तरोन्नतिको माग गरे। वडा नम्बर ३ का उमेश राना मगरले किसानका उत्पादन राज्यले खरिद गर्ने नीतिगत व्यवस्था, शिक्षा विधेयकको तार्किक निष्कर्ष तथा मालपोत कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणका लागि पहल गर्न सुझाव दिए।
स्थानीयले इन्द्रसरोवर क्षेत्रमा रहेको सार्वजनिक गुठी जग्गाको समस्या समाधान गर्न वा ‘रैकर’मा परिणत गर्ने विषयमा संसदमा गुठी विधेयकमाथि काम गर्न आग्रह गरेका छन्। काप्राङका कृष्णलाल मुक्तानले शिक्षा क्षेत्रको सुधार र खानेपानी आयोजनाको निरन्तरतामा ध्यान दिनुपर्ने बताए।
स्थानीयका जिज्ञासा र मागप्रति प्रतिक्रिया दिँदै बर्तौलाले आफ्नो अघिल्लो ३२ महिनाको कार्यकालमा नीति निर्माणसँगै विपद् उद्धार र भौतिक विकासमा सक्रिय भूमिका खेलेको स्मरण गराए।
“मेरो मुख्य जिम्मेवारी नीति निर्माण हो, तर विकासका आकांक्षालाई कहिल्यै ओझेलमा पर्न दिने छैन,” उनले भने, “अधुरा काम पूरा गर्ने मेरो दृढ संकल्प छ।”
कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले स्थानीय तहबाट सडक, विद्युतीकरण र स्वास्थ्य क्षेत्रमा काम भइरहेको जानकारी दिइन्। एमाले मकवानपुर–२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार चुनावी अभियानलाई तीव्र बनाइएको छ।
भेटघाट कार्यक्रममा समानुपातिक उम्मेदवार मेम्बर लो तामाङ, एमाले प्रदेश कमिटी सदस्य नारायण रिजाल, जिल्ला कमिटी सदस्य धनवीर स्याङतान, युवा परिचालन प्रमुख निमा लामा, स्थानीय नेता चन्द्र लामा, होम बहादुर थापा र विद्यार्थी नेता प्रभाष घिमिरेलगायतको उपस्थिति रहेको थियो। 







