
मकवानपुर जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेका अनुसार नेपाल सरकारको अभियानअन्तर्गत यही माघ २५ गतेदेखि फागुन २२ गतेसम्म जिल्लाभर खोप कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमअनुसार माघ २५ देखि २९ गतेसम्म विद्यालयमै पुगेर कक्षा ६ मा अध्ययनरत किशोरीलाई खोप दिइनेछ। त्यसपछि फागुन २२ गतेसम्म पालिकामार्फत विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप सेवा प्रदान गरिनेछ।
निमित्त प्रमुख घिमिरेका अनुसार महिलाहरू भविष्यमा यौन जीवनमा सक्रिय हुनुअघि नै खोप लगाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यस विषयमा नेपाल सरकारले यसअघि नै स्पष्ट नीति सार्वजनिक गरिसकेको पनि उनले जानकारी दिए।
चिकित्सकहरूका अनुसार ह्युमन प्यापिलोमा भाइरस महिलाको शरीरमा करिब २० वर्षसम्म रहन सक्ने र लामो समयपछि क्यान्सरको रूपमा देखा पर्न सक्छ। खोप लगाउँदा केहीलाई सुई दुख्ने, छाला रातो हुने, रिङ्गटा लाग्ने जस्ता सामान्य समस्या देखिन सक्ने भए पनि यसबाट कुनै दीर्घकालीन हानि नहुने घिमिरेले स्पष्ट पारे।
यस वर्षको लक्षित समूहमा जिल्लाका विद्यालयमा कक्षा ६ मा अध्ययनरत ४ हजार २३० जना किशोरी, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका १ सय १६ जना बालिका तथा अघिल्लो वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका ५७ जना किशोरी रहेका छन्। कुल ४ हजार ४०३ जना किशोरीलाई खोप लगाइने जनस्वास्थ्य कार्यालय खोपका फोकल पर्सन बासु रिमालले जानकारी दिए।
नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष करिब २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ भने तीमध्ये करिब १ हजार ३१३ जनाको मृत्यु हुने अनुमान छ। भने उक्त रोगबाट दैनिक दुई/तीन जनाको मृत्यु हुने पनि बताएको छ। क्यान्सरका कारण हुने मृत्युहरूमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख कारणमध्ये एक रहेको जनाइएको छ।
नेपालमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएपछि सरकारले पहिलो पटक आर्थिक वर्ष २०७६–०७७ मा एचपीभी खोप कार्यक्रम सुरु गरेको थियो। त्यसपछि २०७९–०८० र २०८१–०८२ मा अभियानका रूपमा सञ्चालन गरिएको खोप कार्यक्रम यस वर्षदेखि नियमित वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।







