मकवानपुरका पहाडी तथा विकट क्षेत्रका मतदानस्थलमा मतदाता संख्या न्यून देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका विभिन्न दुर्गम स्थानमा ६ सयभन्दा कम मतदाता रहेका १९ वटा मतदानस्थल रहेका छन्।
राक्सिराङ गाउँपालिका–८ स्थित श्री निमावि ठूलो टोडकेको मतदानस्थलमा २ सय ७३ मतदाता रहेका छन् भने राक्सिराङ–२ को थुम्की आधारभूत विद्यालयमा ३ सय ६२ मतदाता मात्र छन्। यस्तै, मकवानपुरगढी–८ स्थित ऋषेश्वर आधारभूत विद्यालयमा ३ सय ८०, कैलाश–७ स्थित प्रजा विकास प्राथमिक विद्यालयमा ४ सय ९७ तथा कैलाशकै सत्यदेवी प्राथमिक विद्यालयको मतदानस्थलमा ५ सय ३ मतदाता रहेका छन्।
प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख हरिप्रसाद ढकालका अनुसार सामान्यतया एक हजार मतदाता भएको स्थानमा मतदानस्थल राख्ने मापदण्ड भए पनि भौगोलिक विकटताका कारण उक्त मापदण्ड लागू गर्न नसकिएको हो। विकट क्षेत्रका मतदातालाई मतदानमा सहज पहुँच दिन कम मतदाता भए पनि मतदानस्थल राख्नुपरेको उनले बताए।
यसैबीच, जिल्लामा सबैभन्दा धेरै मतदाता रहेको मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय हो, जहाँ ९ हजार २ सय ६७ मतदाता रहेका छन्। उक्त मतदानस्थल अन्तर्गत ९ वटा मतदान केन्द्र छन्। त्यसपछि हेटौंडा–५ स्थित पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयमा ८ हजार ९ सय ३८ मतदाता रहेका छन्, जहाँ पनि ९ वटा मतदान केन्द्र छन्।
मकवानपुर जिल्लामा कुल १ सय ६७ मतदानस्थलमा ३ सय ७४ मतदान केन्द्र रहेका छन्। तीमध्ये १ सय ५९ मतदानस्थल विद्यालयमा र ८ वटा मतदानस्थल वडा कार्यालय, बाख्रापालन स्रोत केन्द्र भवन, खोप केन्द्र, शीत भण्डार तथा रोपवेको चौरमा रहेका छन्। बकैया गाउँपालिका–११ मा खोप केन्द्रमा मतदानस्थल राखिएको छ भने बागमती गाउँपालिकाका वडा नम्बर २ र ६ का वडा कार्यालयमा पनि मतदानस्थल तोकिएको छ।
निर्वाचन क्षेत्रतर्फ, मकवानपुर–१ मा ६२ मतदानस्थल अन्तर्गत १ सय ७८ मतदान केन्द्र र १ लाख ५८ हजार ४ सय ३५ मतदाता छन्। मकवानपुर–२ मा १ सय ५ मतदानस्थल, १ सय ९६ मतदान केन्द्र र १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रमा १६ राजनीतिक दलका २९ जना उम्मेदवार चुनावी मैदानमा छन् भने १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मकवानपुर–१ मा १३ दलका १३ जना र १० जना स्वतन्त्र गरी २३ जना उम्मेदवार रहेका छन्। यस्तै, मकवानपुर–२ मा १६ दलका १६ जना र ५ जना स्वतन्त्र गरी कुल २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।







