रेडियो मकवानपुरले हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल र हेटौंडाकी अग्रज महिला उद्यमी ताराकुमारी राईलाई सामुदायिक सम्मान २०८२ प्रदान गरेको छ ।
रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २८ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा उनीहरूलाई जनही १० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो । समुदायमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको रेडियोले जनाएको छ ।
हर्क रम्तेलको अगुवाइमा हेटौंडा–१८ हर्नामाडीमा गुम्बाडाँडा पार्क निर्माण भएको छ भने सोही स्थानमा वैदिक संस्कृत गुरुकुल सञ्चालनमा छ । गुरुकुलमा दलित तथा गैरदलित बटुकहरूले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाबाट सुरु भएको गुम्बाडाँडा हाल मकवानपुरको चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
सम्मानित ताराकुमारी राई विगत साढे दुई दशकदेखि सौन्दर्यकर्मीका रूपमा क्रियाशील छिन् । उनले हालसम्म करिब ६ हजार महिलालाई ब्युटिसियन तालिम प्रदान गरिसकेकी छन्, जसका कारण धेरै महिला स्वरोजगार बनेका छन् ।
सम्मान ग्रहण गर्दै दुवै जनाले सामुदायिक रेडियोबाट पाएको कदरले आफूहरूलाई निरन्तर सामाजिक कर्ममा लाग्न थप प्रेरणा मिलेको बताए । प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली र दिव्यतारा सहकारीका अध्यक्ष लक्ष्मीदेवी श्रेष्ठले नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए ।
यसै अवसरमा वर्ष कर्मचारी सम्मान अन्तर्गत रेडियो मकवानपुरका प्राविधिक नविन आले मगरलाई ७ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । रेडियो मकवानपुरले हरेक वर्ष दुई जनालाई सामुदायिक सम्मान तथा हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिरहेको नेपालजस्तो देशमा सञ्चारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । सामुदायिक रेडियो गैरनाफामूलक र सार्वजनिक हितका लागि सञ्चालन हुने भएकाले यसको आवश्यकता झनै बढ्दै गएको उनको भनाइ थियो । पछिल्ला वर्षहरूमा आर्थिक मन्दीका कारण सामुदायिक रेडियोहरू प्रभावित भएकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।
समारोहमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित मिडिया कप फुटसल प्रतियोगिता का विजेता टिम टेलिभिजन र उपविजेता नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई नगदसहित ट्रफी प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान, संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण, सेनेटरी प्याड वितरण, मिडिया कप फुटसल प्रतियोगिता तथा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरसंवाद कार्यक्रम सञ्चालन गरिएको थियो ।
दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







