हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष सिग्देलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत शिक्षाको गुणस्तर सुधार गर्न सकिने उल्लेख गरे।
वडा कार्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यले विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको अध्यक्ष सिग्देलले बताए।
हेटौंडा–४ नं. वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको संयोजन तथा भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा ६ वटा विद्यालय सहभागी रहेका छन्। माघ २३ र २४ गते दुई दिनसम्म भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिए।
उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गसरागाईं, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम खान, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का संयोजक तथा श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, चन्द्रदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जीधरराज ढकाल, नगर टनेल विकास समन्वय समितिका महासचिव शिवहरि दाहाल, भुटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रम भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको सभाध्यक्षतामा सम्पन्न भएको विद्यालयका सह–प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिए।








