निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तर्गत मतपत्र छपाइ तथा प्याकिङ्ग कार्य तीव्र रूपमा अघि बढाएको छ। आयोगका अनुसार शुक्रबार बिहान ८:०० बजेसम्म ७० निर्वाचन क्षेत्रका जम्मा ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली (PR) र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) अन्तर्गत प्रयोग हुने १० लाख ९८ हजार २०० नमूना मतपत्र २०८२ पुस २२ गतेदेखि छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
त्यसैगरी, २०८२ पुस २६ गतेदेखि सुरु गरिएको समानुपातिक निर्वाचन प्रणाली (PR) तर्फको मतपत्र छपाइ २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ पूरा गरी प्याकिङ्ग, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) अन्तर्गत आवश्यक पर्ने कुल २ करोड ३ लाख २३ हजार मतपत्रमध्ये माघ २३ गते बिहान ८:०० बजेसम्म ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाइ भई ७ हजार १३४ बाकसमा प्याकिङ्ग सम्पन्न भएको छ।
आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ्ग कार्य सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
७० निर्वाचन क्षेत्रका ८४ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न
७० निर्वाचन क्षेत्रका ८४ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न
"३२ जिल्लामा ढुवानी तयारी "
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







