मकवानपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन्।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म मकवानपुरका दुवै निर्वाचन क्षेत्रका कुल ४४ उम्मेदवारमध्ये २१ जनाले मात्रै नयाँ बैंक खाता खोल्न आवश्यक सिफारिस लिएका हुन्।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सबै खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था छ। २५ हजार रुपैयाँभन्दा बढीको खर्च वा सहयोग अनिवार्य रूपमा बैंकमार्फत गर्नुपर्नेछ भने सोभन्दा कम रकम नगदमा लेनदेन गरे पनि त्यसको रसिद पेश गर्नुपर्ने हुन्छ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा २१ जना र क्षेत्र नम्बर २ मा २३ जना उम्मेदवार रहेका छन्। उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि जुनसुकै बैंकमा पनि छुट्टै खाता खोल्न सक्नेछन्, जसका लागि निर्वाचन कार्यालयले सिफारिस प्रदान गर्दै आएको छ। मकवानपुरका उम्मेदवारहरूले अधिकतम ३३ लाख रुपैयाँसम्म निर्वाचन खर्च गर्न पाउने व्यवस्था छ।
छुट्टै बैंक खाता नखोल्ने तथा खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघनको आधारमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको छ।







