नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाले आफ्नो उम्मेदवारीप्रति मकवानपुरे जनता खुसी रहेको प्रतिक्रिया पाएको बताउनुभएको छ।
नेकपा एमालेबाट निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उम्मेदवार रानाले मुलुकलाई वर्तमान संकटबाट पार लगाउन तथा विकास र समृद्धिको बाटोमा अघि बढाउन नेकपा एमालेको जित अपरिहार्य रहेको बताउनुभयो। उहाँले विचलित वा अन्योलमा नपरी ढुक्क भएर निर्वाचन अभियानमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।
भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गते हुने निर्वाचन राष्ट्रियता विरोधी र राष्ट्रिय स्वाभिमानबीचको लडाइँ भएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि नेकपा एमालेलाई विजयी बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। अब बन्ने संसद्ले मुलुकलाई निकास दिन नसके संविधान र लोकतन्त्र मात्र होइन, राष्ट्रियतामै संकट आउने उहाँको भनाइ थियो।
त्यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले वैधानिक रूपमा निर्वाचन जितेर बहुमतसहित सरकार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मकवानपुरमा एमालेको विगतको साख कायम राख्दै निर्वाचन तयारीमा जुट्न आग्रह गर्नुभयो।
नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा हेटौँडा उपमहानगरपालिका दलका नेता नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भेलामा पूर्व सांसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्यहरू फुर्वादोर्जे घिसिङ, गणेशकुमारी श्रेष्ठ, नगर कमिटी अध्यक्ष बोलबहादुर कार्कीलगायतको उपस्थिति रहेको नेकपा एमाले जिल्ला उपसचिव तथा दलका सचिव फुर्वादोर्जे लामाले जानकारी दिनुभयो।







