नेकपा एमाले मकवानपुर जिल्ला क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
बकैया गाउँपालिका वडा नम्बर ७ स्थित हातीचरण सामुदायिक भवनमा आयोजित कार्यक्रममा अगुवा कार्यकर्ता भेला तथा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको हो। यस्तै, बकैया गाउँपालिका वडा नम्बर २ अन्तर्गत धियालको दोभानमा पनि सम्पर्क कार्यालय उद्घाटनसँगै अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको छ।
कार्यक्रमको अवसरमा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी आधा दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेमा प्रवेश गर्नेहरूमा आयते सिंह मुक्तान, सन्तबहादुर स्याङ्तान लगायतका नेता तथा कार्यकर्ताहरू रहेका छन्।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना र एमालेका नेता तथा पूर्व सांसद कृष्णप्रसाद दाहालले खादा र माला लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले नेकपा एमाले जनताको विश्वासको पार्टी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले बकैया क्षेत्रको विकास र समृद्धिका लागि एमालेको स्पष्ट नीति, योजना र सक्षम नेतृत्व आवश्यक रहेको बताए।
कार्यक्रममा नेकपा एमालेका जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले उत्साहपूर्ण सहभागितामार्फत आगामी निर्वाचनका लागि पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।







