नेकपा (एमाले) मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू किसानका समस्या र पीडा नीति निर्माण तहसम्म पुर्याउने “भरिया” भएको बताउनुभएको छ। निर्वाचन लक्षित कार्यक्रमअन्तर्गत सोमबार मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा मतदातासँग अन्तरक्रिया गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
बर्तौलाले मकवानपुरगढी–५ र ६ का डुम्रेकुना, झल्ला, बुँदल, धादिङ, भालुखोला, बागदली र ज्यामिरे क्षेत्रमा पुगेर स्थानीय समस्या सुन्नुका साथै भावी योजना सार्वजनिक गर्नुभयो। एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार बर्तौलाले अघिल्लो ३२ महिने कार्यकालमा मल, बीउ, तरकारीको मूल्य, खसीबोकाको बजारीकरण र दुग्ध किसानको भुक्तानीका विषयमा निरन्तर संसदमा आवाज उठाउनुभएको थियो।
अन्तरक्रियामा स्थानीय नेताहरूले सामरी बस्तीको सुरक्षा, अस्पताल व्यवस्थापन, शीतभण्डार सञ्चालन र सडक पूर्वाधारमा बर्तौलाको भूमिकाको अपेक्षा व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले आगामी फागुन २१ गतेको निर्वाचनमा बर्तौलालाई जिताउन अपिल समेत गरे।
भेटघाटकै क्रममा बर्तौलाले शिक्षा र पूर्वाधार क्षेत्रमा आफ्नै पहलमा अघि बढेका योजनाहरूको जानकारी दिँदै जाल्पा देवी माध्यमिक विद्यालय भवन निर्माण, मकवानपुरगढी खानेपानी आयोजना र सरङ्गपुर पक्की पुल निर्माण उल्लेख गर्नुभयो। आगामी दिनमा सामरी खोला तटबन्धन तथा अधुरा विकास निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै उहाँले एमालेको सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो।







