हेटौंडा उपमहानगरपालिका–१० का २७ जना स्वतन्त्र युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरू औपचारिक रूपमा कांग्रेसमा आबद्ध भएका हुन्।
कांग्रेस प्रवेश गर्नेमा सुजन खड्की, रविन देउला, अनिल थापा, रितेश श्रेष्ठलगायतका युवा रहेका छन्। कार्यक्रम कांग्रेस वडा सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक युवराज लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कांग्रेसका निवर्तमान केन्द्रीय सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले नवप्रवेशी युवाहरूलाई स्वागत गरेकी थिइन्।
वडा सभापति लामाले कांग्रेसलाई जिताउने अभियानमा युवाहरूको सहभागिताले थप उत्साह मिलेको बताए। कार्यक्रममा कांग्रेसका समानुपातिक उम्मेदवार सर्मिला श्रेष्ठ, जिल्ला सदस्य ताराकुमारी राई, नेपाल तरुण दल जिल्ला सदस्य नितेश लामालगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि उपाध्यायले जेनजी, महिला तथा समग्र मकवानपुरवासीले खोजेजस्तो उम्मेदवार आफू भएको दाबी गर्दै समृद्ध मकवानपुर निर्माणका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरिन्। कार्यक्रममा कांग्रेस मकवानपुरका पदाधिकारी तथा नेताहरूको समेत उपस्थिति रहेको थियो।







