आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा हेटौंडा सहित मकवानपुर जिल्लाको राजनीतिक माहोल क्रमशः तातिँदै गएको छ । जाडो घटेसँगै तापक्रम बढेझैँ चुनावी सरगर्मी पनि बढ्दै गएको देखिन्छ । मकवानपुरका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् ।
यसैक्रममा मकवानपुर–१ बाट नेकपा (एमाले)का उम्मेदवार रामेश्वर राना घरदैलो अभियानमा सक्रिय देखिएका छन् । मतदाताको घर–घरमा पुगेर उनले आफ्ना एजेन्डा प्रस्तुत गर्दै समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
शुक्रबार रानाले हेटौंडा उपमहानगरपालिका–१६ र १८ मा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका थिए । ती कार्यक्रमहरूमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । टोल–टोलमा पुग्दा मतदाताले विकास, सुशासन र स्थायित्वप्रतिको अपेक्षा व्यक्त गर्दै रानालाई स्वागत गरेका थिए । केही स्थानीयले जिल्लास्तरमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै अनुभवी र शालीन नेतृत्व आवश्यक रहेको बताएका थिए ।
मतदातासँगको संवादमा रानाले लोकतन्त्रको सुदृढीकरण, विकासको निरन्तरता र जनउत्तरदायी शासनलाई आफ्नो प्राथमिकता रहेको बताए । पूर्व जिल्ला विकास समिति मकवानपुरका सभापति रहँदा दुर्गम क्षेत्रसम्म सडक सञ्जाल विस्तार, दीर्घकालीन विकास योजना निर्माण तथा संगठन सुदृढीकरणमा भूमिका खेलेको उनका समर्थकहरूको दाबी छ ।
२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । स्वच्छ छवि र संयमित स्वभावका कारण उनी स्थानीय राजनीतिमा फरक पहिचान बनाएका नेताका रूपमा चिनिन्छन् ।
मकवानपुर–१ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वडा, बकैया र बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन् । ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ जना र १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये ५ जना महिला उम्मेदवार रहेका छन्, जसमा ३ जना विभिन्न दलका तर्फबाट मैदानमा उत्रिएका छन् ।
निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताको सक्रियता र उम्मेदवारहरूको घरदैलो अभियानले हेटौंडाको चुनावी वातावरण थप चहलपहलपूर्ण बन्दै गएको छ । परिणाम जे आए पनि यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।







