मकवानपुर/ लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको तीनमहिने अभियानअन्तर्गत मनहरी गाउँपालिकामा बहुआयामिक कार्यक्रमहरू सम्पन्न भएका छन्।
अभियानको प्रमुख कार्यक्रमका रूपमा पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक आयोजना गरिएको थियो। बैठकमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुख, सुरक्षा निकाय तथा सरोकारवाला प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकले लागुऔषध नियन्त्रणलाई स्थानीय तहको साझा जिम्मेवारीका रूपमा स्थापित गर्दै लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६ बमोजिम पालिका स्तरीय समन्वय समिति शीघ्र गठन गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृतले नीति, योजना, तथ्याङ्क संकलन तथा कार्यक्रम कार्यान्वयनलाई एकीकृत ढंगले अगाडि बढाइने स्पष्ट पार्नुभयो।
गाउँपालिका अध्यक्ष कालाखेतीले मनहरीलाई लागुऔषध दुर्व्यसनको जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै बजेट विनियोजन, युवा लक्षित कार्यक्रम, विद्यालयस्तरीय सचेतना, पुनर्स्थापना सहकार्य तथा जनअभियान विस्तारमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभियानअन्तर्गत मनहरी गाउँपालिकाको श्री भोज सिद्ध विद्यालयमा विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा लागुऔषधका शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असर, कानुनी परिणाम, जीवन सीप विकास र सकारात्मक जीवनदृष्टिसम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया गरिएको थियो। शिक्षक, अभिभावक, रिकभरिङ नेपाल बागमती प्रदेशका प्रतिनिधि तथा सिआन पुनर्स्थापना केन्द्रका परामर्शदाताहरूको सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको आयोजकले जनाएका छन्।
यसका साथै समुदायस्तरमा सन्देश प्रवाहलाई सुदृढ बनाउन गाउँपालिकाका मुख्य चोक, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा सन्देशमूलक होर्डिङ बोर्डहरू स्थापना गरिएको छ। विद्यालय बाहिर धूम्रपान निषेधित क्षेत्र जनाउने बोर्ड राखिनुका साथै सन्देशमूलक पर्चा तथा जनचेतनामूलक सामग्री वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।
मनहरी गाउँपालिकामा सम्पन्न यी कार्यक्रमहरूले लागुऔषध विरुद्धको अभियानलाई जनस्तरदेखि नीतिगत तहसम्म जोड्दै सामाजिक उत्तरदायित्व, सहकार्य र सचेतनाको सशक्त वातावरण निर्माण गरेको सरोकारवालाहरूले बताएका








