हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा बृहत् शैक्षिक तथा खेलकुद र्याली सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको तेस्रो वडा स्तरीय खेलकुद महोत्सवको अवसरमा र्याली आयोजना गरिएको हो।
र्यालीको उद्घाटन गर्दै संविधानसभा सदस्य तथा प्रमुख अतिथि अनन्त पौडेल ले वडा–४ ले भौतिक पूर्वाधारसँगै शिक्षा र खेलकुदलाई समान प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे। यस्ता कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउनुका साथै उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल ले शिक्षा र खेलकुद वडा–४ का मुख्य प्राथमिकता भएको स्पष्ट पार्दै दुवै क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।
शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम तथा भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे लगायतले खेलकुद र शिक्षाको महत्व औँल्याए।
कार्यक्रममा श्रमिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा सचिव रामप्रसाद गुरागाईं, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका सभापति तथा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहाल ले महोत्सवअन्तर्गत विभिन्न प्रतियोगितामा १२ सयभन्दा बढी विद्यार्थी सहभागी भएको जानकारी दिए। प्रतियोगिताका विजेता तीन सयभन्दा बढी विद्यार्थीलाई पुरस्कार प्रदान गरिने उनले बताए।
खेलकुद संयोजक राजाराम पोखरेल का अनुसार महोत्सवमा नगरस्तरीय फुटबल, भलिबल, क्रिकेट, बास्केटबल तथा वडा स्तरीय टग अफ वार, एथलेटिक्स, हाजिरीजवाफ, वक्तृत्वकला, हिज्जे, वादविवाद, कविता र क्विज प्रतियोगिता सञ्चालन गरिएको छ।
विजेता विद्यार्थीलाई यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।







