हेटौंडा/नेकपा एमाले मकवानपुर निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले मकवानपुर जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ।
बैठकमा विगत निर्वाचनमा प्राप्त मत सुरक्षित गर्दै नयाँ चुनौतीको सामना गर्न सबै नेता–कार्यकर्ता चनाखो रहनु पर्ने र प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको निर्वाचन परिचालनका प्रचार प्रमुख नवीन सिग्देलले जानकारी दिनुभयो।
निर्वाचन परिचालन समितिका सचिव हिदम लामाका अनुसार उम्मेदवारहरू कार्यकर्ता तथा मतदातासमक्ष पुग्दा उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। हालसम्म १०२ वडामा उम्मेदवारसँग अगुवा कार्यकर्ता भेला सम्पन्न भइसकेको, वडा तहसम्म निर्वाचन सम्पर्क कार्यालय खोलिएको तथा पार्टी र जनसंगठनमा निर्वाचन परिचालन कमिटी गठन गरिएको उहाँले बताउनुभयो।
बैठकमा मतदातासँग जनसंवाद, प्रचार–प्रसार, स्वयंसेवक परिचालन, आर्थिक व्यवस्थापन र घोषणापत्र निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, क्षेत्र नं. २ का सहसंयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोग सदस्य तथा निर्वाचन प्रचार–प्रसार संयोजक नवीन सिग्देल, प्रतिबद्धता पत्र तयारी समिति संयोजक अनन्तप्रसाद पौडेल र आर्थिक व्यवस्थापन समिति संयोजक गोपाल श्रेष्ठलगायतले समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन परिचालन समिति संयोजक रामेश्वर रानाको अध्यक्षतामा सम्पन्न बैठकमा अनुगमन समिति संयोजक डोरमणि पौडेलले विपक्षीले फैलाएका भ्रम चिर्दै लोकतन्त्र स्थापना, संविधान जारी, शान्ति स्थापना तथा विकास–समृद्धिमा पार्टीले खेलेको भूमिकाबारे जनतामा प्रभावकारी रूपमा पुर्याउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्न निर्देशनात्मक मन्तव्य राख्नुभयो।







