नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार महेश बर्तौला ले मकवानपुर–२ का मतदातासँग विश्वासको मत दिन आग्रह गर्नुभएको छ।
कैलाश गाउँपालिकाको अम्बाटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफू यहीँको माटो र भूगोल बुझेको किसानको छोरा भएको उल्लेख गर्नुभयो। केही उम्मेदवारलाई मकवानपुर–२ का वडाको संख्या समेत थाहा नभएको भन्दै बर्तौलाले आफू स्थानीय समाजमै हुर्किएको र यहाँका जनताको भावना तथा आवश्यकता नजिकबाट बुझेको दाबी गर्नुभयो।
उहाँले बाहिरबाट ‘आयात’ गरिएको नेता नभई स्थानीय समुदायमै घुलमिल भएको व्यक्ति भएको बताउनुभयो। “जनताको घरदैलो, खेतबारी, खोलानाला र गाउँका समस्या मेरा आफ्नै जस्तै हुन्,” उहाँले भन्नुभयो।
निर्वाचित भएपछि ‘कैलाश–राक्सिराङ समृद्धि विशेष कार्यक्रम’ सञ्चालन गरी गरिबी निवारण, पूर्वाधार विकास र रोजगारी सिर्जनामा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै बर्तौलाले विकासलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने अठोट दोहोर्याउनुभयो।
सभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उहाँले भावनात्मक रूपमा भन्नुभयो, “मकवानपुर–२ मेरो घर हो। यहाँको भविष्य सुरक्षित र समृद्ध बनाउने जिम्मेवारीबाट म पछि हट्नेछैन।”
आगामी फागुन २१ गते हुने निर्वाचनलाई निर्णायक अवसरका रूपमा लिन आग्रह गर्दै बर्तौलाले विकास, इमान्दारिता र स्थानीय नेतृत्वको पक्षमा उभिन मतदातासँग अपिल गर्नुभएको छ।







