हेटौंडा/आम निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय देखिएका छन्। निर्वाचनमा अब केवल १५ दिन मात्र बाँकी रहँदा नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना ले मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका छन्।

बुधवार बिहान ७ बजेदेखि नै रानाले हेटौंडा उपमहानगरपालिका–१४ नम्बर वडाबाट घरदैलो अभियान सुरु गरेका हुन्। घरघरमा पुगेर उनले आफ्ना व्यक्तिगत एजेन्डासँगै पार्टीका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मतदातासँग समर्थन मागिरहेका छन्।
२०६४ सालको संविधानसभा निर्वाचनपछि केही समय प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन्। स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण उनले स्थानीय राजनीतिमा अलग पहिचान बनाएको स्थानीयको भनाइ छ। यही कारण मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनको दाबी छ।

मकवानपुर–१ निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाका १५ वडा, बकैया र बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन्। कुल ४० वडा रहेको यस क्षेत्रमा १३ राजनीतिक दलका उम्मेदवार र १० स्वतन्त्र गरी जम्मा २३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।







