हेटौँडा/निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले हेटौँडामा आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ। एमालेका नेता तथा कार्यकर्ताहरू घरदैलो र मतदाता भेटघाट कार्यक्रममार्फत मतदातामाझ पुगेर पार्टी र उम्मेदवारविरुद्ध फैलाइएका भ्रम चिर्दै समर्थन जुटाउन सक्रिय भएका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न टोलहरूमा आयोजित भेटघाट कार्यक्रममा मतदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा पार्टीका चुनावी एजेण्डा र विगतमा गरेका कामबारे जनतालाई स्पष्ट पारिएको छ।
मतदाता भेटघाटका क्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेको नेतृत्व हुँदा सडक, खानेपानी, विद्युतिकरण, विद्यालय र स्वास्थ्य चौकीको स्तरउन्नतिमा तीव्रता आएको उहाँको भनाइ थियो। साथै कृषि र पर्यटन विकासमा पनि एमाले सरकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
त्यसैगरी, बागमती प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलालले स्थानीय तहसम्म विकासको पहुँच विस्तार हुनु, बजेटको ठूलो हिस्सा स्थानीय तहमा विनियोजन हुनु तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र दलितलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिनु एमालेकै नीतिको परिणाम भएको उल्लेख गर्नुभयो। एमाले सरकारले गरेका कामको मूल्यांकन गरेर मतदाताले सूर्य चिन्हमा मतदान गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।
उहाँले पार्टी जनप्रिय भएकै कारण विभिन्न प्रहार भइरहेको उल्लेख गर्दै न्यायपूर्ण मतदानमार्फत फागुन २१ गतेपछि एमालेको बहुमतसहितको सरकार बन्ने दाबी गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, जिल्ला सदस्यहरू शिवहरी दाहाल, मिलन पाठकलगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।







