हेटौंडा/ नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिबार हेटौंडा उपमहानगरपालिका–५ र ७ नम्बर वडामा घरदैलो अभियान सञ्चालन गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार रानाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समृद्ध मकवानपुर निर्माणका लागि आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका थिए। विकास, रोजगारी, सुशासन तथा जनताको जीवनस्तर उकास्ने विषयलाई प्राथमिकतामा राख्दै उनले विगतको अनुभव र क्षमताका आधारमा आफू सक्षम प्रतिनिधि हुने दाबी गरे।

रानाले मकवानपुरको समग्र विकासका लागि आफूले सशक्त भूमिका खेल्ने विश्वास दिलाउँदै मतदातासँग सहयोग र समर्थनको आग्रह गरेका छन्। घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले उनको सरल, जनमुखी र विकासप्रेमी नेतृत्वप्रति भरोसा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
घरदैलो कार्यक्रममा देखिएको जनउत्साहले मकवानपुर–१ मा एमालेको चुनावी माहोल थप सुदृढ बन्दै गएको संकेत गरेको नेताहरूको भनाइ छ। कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवार रानाले मतदाताको घरदैलोमै पुगेर जनसमर्थन विस्तार गर्ने अभियानलाई अझ तीव्र बनाउँदै लगेका छन्।







