हेटौंडा/ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा “Transforming Education Through AI” (एआईमार्फत शिक्षामा रूपान्तरण) भन्ने मूल नाराका साथ तीनदिने ह्याकाथन “एनिग्मा (Enigma)” आजबाट औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रम २०८२ फागुन ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ।
नवोदय इनोभेसन सेन्टरको प्रायोजनमा आयोजना गरिएको यस ह्याकाथनको सह–आयोजना कलेजको सूचना प्रविधि (IT) विभाग तथा विद्यार्थी विकास केन्द्रले गरेका हुन्।
कार्यक्रममा कुल ८० जना विद्यार्थीहरू १६ वटा समूहमा विभाजन भई सहभागी भएका छन्। ह्याकाथनको मुख्य उद्देश्य शिक्षा क्षेत्रलाई आधुनिक र प्रभावकारी बनाउने लक्ष्यसहित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नवीन समाधानहरू विकास गर्नु रहेको छ।

तीन दिनसम्म चल्ने यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले मेन्टरसिप प्राप्त गर्ने, समस्या पहिचान तथा अवधारणा विकास गर्ने, प्रोटोटाइप निर्माण गर्ने र अन्तिम दिन आफ्ना परियोजनाहरू प्रस्तुत गर्नेछन्। यस प्रक्रियाले विद्यार्थीहरूको सिर्जनशीलता, समस्या समाधान क्षमता, टिमवर्क तथा शिक्षामा एआईको व्यावहारिक प्रयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्तिम दिन तयार पारिएका परियोजनाहरूको प्रदर्शन गरिनेछ भने निर्णायक मण्डलद्वारा मूल्याङ्कन गरी उत्कृष्ट, प्रभावकारी र रचनात्मक समाधानहरूलाई पुरस्कृत गरिनेछ।
ह्याकाथन “एनिग्मा” ले प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई नवीन सोचमार्फत वास्तविक संसारका चुनौतीहरू समाधान गर्न सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकको भनाइ छ।







