आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा स्वास्थ्य क्षेत्रको पूर्वतयारी तीव्र पारिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति, मकवानपुरको बुधबार बसेको बैठकले निर्वाचन अवधिमा आइपर्न सक्ने स्वास्थ्य समस्या तथा विपद् व्यवस्थापनका लागि महत्वपूर्ण निर्णयहरू गरेको हो।
जिल्ला प्रशासन कार्यालयका प्रमुख वसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाका सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
बैठकका निर्णयअनुसार जिल्लाका १० वटै स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य टोली (RRT) लाई आवश्यक स्रोतसाधनसहित तयारी अवस्थामा राखिनेछ। साथै हेटौंडा अस्पताललाई इमर्जेन्सी मेडिकल टिम (EMT) तयारी अवस्थामा राखी सोको जानकारी जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई गराउन निर्देशन दिइएको छ।
निर्वाचन अवधिमा स्वास्थ्य सेवामा उच्च जनशक्ति परिचालन आवश्यक पर्ने भन्दै जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई बिदामा नबस्न तथा जिल्ला नछोड्न निर्देशन दिइएको छ। यस कार्यको समन्वय जनस्वास्थ्य कार्यालय, मकवानपुरले गर्नेछ।
त्यसैगरी जिल्लाभर रहेका एम्बुलेन्स तथा दमकलहरूलाई जुनसुकै बेला प्रयोग गर्न सकिने गरी चालू (Operational) अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय भएको छ। विपद् व्यवस्थापन समितिअन्तर्गतको ‘हेल्थ क्लस्टर’लाई निर्वाचन लक्षित विपद्जन्य घटनामा पूर्वतयारी, उद्धार तथा स्वास्थ्य सेवा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउन जिम्मेवारी दिइएको छ।
निर्वाचनलाई भयरहित, सुरक्षित र सहज वातावरणमा सम्पन्न गर्न स्वास्थ्य क्षेत्रबाट कुनै कमी नहोस् भन्ने उद्देश्यसहित जनस्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई तयारी अवस्थामा रहन समितिले विशेष अनुरोध गरेको छ।








