नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (नेकपा एमाले) मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा व्यापक घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। मंगलबार र बुधबार उनले गाउँपालिकाका सबै वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै सूर्य चिन्हमा मतदान गरी रानालाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बाराको निजगढ हुँदै बकैया–६ गवरस्थान पुगेका रानालाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए। व्यापक जनसहभागितासहित सम्पन्न स्वागत कार्यक्रमले बकैयामा एमालेप्रतिको समर्थन बलियो बन्दै गएको संकेत दिएको स्थानीयहरूको भनाइ छ।
स्थानीय विकासमा रानाले विगतमा पुर्याएको योगदानलाई स्मरण गर्दै मतदाताहरूले उनीप्रति विश्वास व्यक्त गरेका छन्। २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति रहँदा रानाको पहलमा बकैया–६ गवरस्थानमा जनजागृति आधारभूत विद्यालय स्थापना स्वीकृत भएको थियो। विद्यालयका तत्कालीन अध्यक्ष टंक गोलेले जिल्लाको समग्र विकासमा निरन्तर योगदान दिएका इमानदार र विकासप्रेमी नेताका रूपमा रानालाई पुनः मतदान गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिए।
घरदैलो अभियानका क्रममा रानाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा आफ्ना योजना सार्वजनिक गरेका छन्। एमाले नेतृत्वको सरकारले देशभर पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शिक्षा तथा स्वास्थ्य संस्थाको सुदृढीकरण र राष्ट्रिय स्वाभिमानको संरक्षणमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले बकैयालाई समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए।
पछिल्लो समय मुलुकले भोगेको अस्थिरता र विकास अवरोधपछि अब परिणाममुखी र स्थिर नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। “अब नारा होइन, परिणाम चाहिएको छ। एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” रानाले भने।
स्थानीय जनउत्साह, विगतका उपलब्धि र एमालेको विकासवादी नीतिका आधारमा बकैयामा आफ्नो पक्षमा जनसमर्थन बढ्दै गएको रानाको दाबी छ।







