जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचन अवधिभर मदिरा बिक्री वितरण नगर्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै प्रशासनले फागुन १४ गतेदेखि निर्वाचनको परिणाम सार्वजनिक नहुन्जेलसम्म होटल तथा मदिरा व्यवसायीहरूलाई मदिरा बिक्री वितरण रोक्न अनुरोध गरेको हो।

विज्ञप्तिमा सार्वजनिक स्थानहरूमा मदिरा सेवन नगर्न समेत सर्वसाधारणलाई आग्रह गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।
त्यसैगरी, फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवा तथा अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक तथा निजी क्षेत्रका यातायात व्यवसायीहरूलाई अनुरोध गरेको छ।
प्रशासनले सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई जारी निर्देशनको पालना गर्न अपिल गरेको छ।







